जाजरकोट। जाजरकोटमा नेपाली कांग्रेसका युवा नेता खडकबहादुर बुढा फराकिलो मतान्तरका साथ विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले नेकपाका उम्मेदवार तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत लाई २ हजार ७३५ मतान्तर ले पराजित गर्दै जिल्लाको राजनीतिक समीकरण बदलिदिएका छन्।
निर्वाचन परिणामअनुसार बुढाले २० हजार १४२ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी बस्नेतले १७ हजार ४०७ मत पाए। नेकपा एमालेका डम्बरबहादुर सिंह ले १६ हजार ८८३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्की ले २ हजार ४७१ मत प्राप्त गरेका छन्।
शक्तिको ‘ह्याट्रिक’ यात्रामा पूर्णविराम
पूर्वगृहमन्त्री समेत रहेका शक्तिबहादुर बस्नेत २०७०, २०७४ र २०७९ को निर्वाचनमा लगातार विजयी हुँदै आएका थिए। चौथो पटक जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका बस्नेतको अपराजित यात्रामा भने यसपटक खडकबहादुर बुढाले पूर्णविराम लगाइदिएका छन्।
चार पटक सांसद र चार पटक मन्त्री बनिसकेका बस्नेतले जिल्लामा अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना पनि खेप्दै आएका थिए। यद्यपि केन्द्रमा प्रभावशाली नेताका रूपमा चिनिने भएकाले जाजरकोटी मतदाताले उनलाई पटक–पटक जिताएर पठाएका थिए।
जाजरकोटको पुरानो राजनीतिक पृष्ठभूमि
२०७४ अघि जाजरकोटमा दुई वटा निर्वाचन क्षेत्र थिए। २०७० को निर्वाचनमा पश्चिम जाजरकोट (क्षेत्र नम्बर २) बाट कांग्रेसका राजीवविक्रम शाह विजयी भएका थिए। तर पूर्वी जाजरकोट (पहिलो क्षेत्र नम्बर १) मा भने लामो समय कांग्रेसले जित निकाल्न सकेको थिएन।
यस क्षेत्रमा २०५१ को निर्वाचनमा कांग्रेसका झलकनाथ वाग्ले विजयी भएका थिए। त्यसपछि २०५६ मा राप्रपाका गोविन्दविक्रम शाह निर्वाचित भए। २०६४ यता भने माओवादीले लगातार चुनाव जित्दै आएको थियो। २०६४ मा कालीबहादुर मल्ल विजयी भएका थिए भने त्यसपछि शक्तिबहादुर बस्नेतले लगातार तीन निर्वाचन जितेका थिए।
कांग्रेसलाई तीन दशकपछि पुनर्जीवन
खडकबहादुर बुढाको जितसँगै जाजरकोटमा करिब तीन दशकपछि कांग्रेसले नयाँ ऊर्जा पाएको विश्लेषण गरिएको छ। उनले केवल शक्तिबहादुर बस्नेतलाई मात्र पराजित गरेका होइनन्, लामो समयदेखि कायम रहेको कम्युनिस्टको प्रभावलाई समेत चुनौती दिएका छन्।
जिल्लामा प्रभावशाली युवा नेताको रूपमा परिचित बुढा पहिलो पटक संसदीय चुनावमा होमिएका थिए। युवामाझ लोकप्रिय छवि बनाएका कारण उनको जीतलाई नयाँ राजनीतिक पुस्ताको उदयका रूपमा पनि हेरिएको छ।
को हुन् खडकबहादुर बुढा ?
२०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९ नाहाडा मा जन्मिएका खडकबहादुर बुढा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
वीरेन्द्र उच्च मावि जुंगाथापाचौर जाजरकोटमा अध्ययनका क्रममा २०५३ सालमा नेपाल विद्यार्थी संघ को साधारण सदस्यता लिएर उनले राजनीति सुरु गरेका थिए। २०६३ मा नेविसंघ जाजरकोट जिल्ला सचिव बनेका बुढा २०६४ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति चुनिएका थिए।
२०६७ मा नेपाली कांग्रेसको १२औँ महाधिवेशन प्रतिनिधि बनेका उनी त्यतिबेला खुलातर्फ देशकै कान्छा प्रतिनिधि थिए।
२०७३ मा १३औँ महाधिवेशन बाट नेपाली कांग्रेस जाजरकोटको जिल्ला सचिव बनेका बुढा २०७८ मा १४औँ महाधिवेशनबाट जिल्ला उपसभापति मा निर्वाचित भए। २०७९ देखि हालसम्म उनी कांग्रेस जाजरकोटको कार्यवाहक सभापति का रूपमा कार्यरत छन्।
२०७४ को स्थानीय तह निर्वाचन मा शिवालय गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका बुढा एमालेका नरेन्द्रकुमार शाही सँग पराजित भएका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।


प्रदेश पोष्ट । २०८२ फाल्गुन २३ गते शनिवार