काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्।
ओलीले १८ हजार ७२४ मत प्राप्त गर्दा शाह र ओलीबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर देखिएको छ।
यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ सबैभन्दा चर्चित निर्वाचन क्षेत्रमध्ये एक बनेको थियो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि यहाँ ओलीसँगको प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको थियो।
को हुन् बालेन ?
३६ वर्षीय बालेन्द्र शाह पेशाले सिभिल इन्जिनियर हुन्। केही वर्षअघि सम्म उनी र्यापरका रूपमा नयाँ पुस्ताबीच लोकप्रिय थिए। तर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि उनी राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा पुगे।
२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उम्मेदवारी दिँदा धेरैले उनलाई गम्भीर प्रतिस्पर्धीका रूपमा हेरेका थिएनन्। तर मतपरिणामले नेपाली मतदाताको सोचमा आएको परिवर्तनलाई स्पष्ट संकेत दिएको थियो।
मेयर बनेपछि उनले सामाजिक सञ्जालदेखि राष्ट्रिय बहससम्म आफ्नो प्रभाव विस्तार गर्न सफल भएका छन्।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेद चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि उद्धार र राहत कार्यमा सक्रिय रूपमा सहभागी भएर उनले सामाजिक सेवाको छवि पनि बनाएका थिए।
नयाँ पुस्ताले रुचाएका र्यापर, कवि तथा इन्जिनियरका रूपमा चिनिएका शाहको राजनीतिक यात्राबारे चर्चा भने सामाजिक सञ्जालमार्फत अझ व्यापक रूपमा फैलिएको छ।


प्रदेश पोष्ट । २०८२ फाल्गुन २३ गते शनिवार