१२ वर्षपछि दैलेख–१ मा कांग्रेसको विरासत फर्कियो

बासना थापा ५७६ मतान्तरले विजयी

दैलेख। करिब १२ वर्षपछि दैलेख–१ मा नेपाली कांग्रेसले आफ्नो राजनीतिक विरासत पुनः स्थापित गरेको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस उम्मेदवार बासना थापा विजयी भएसँगै लामो समयदेखि कम्युनिस्ट प्रभाव रहेको क्षेत्रमा कांग्रेसले पुनः प्रवेश गरेको हो।

निर्वाचन परिणामअनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रवीन्द्रराज शर्मा ले ११ हजार ७९६ मत प्राप्त गरे। दुवै उम्मेदवारबीचको मतान्तर ५७६ रहेको छ।

अन्य उम्मेदवारको मत

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत ले ८ हजार १५१ मत प्राप्त गरेका छन्। अघिल्ला तीन निर्वाचनमा लगातार विजयी भएका नेकपाका अम्मरबहादुर थापा भने यसपटक ४ हजार २५६ मत मा सीमित हुँदै पराजित भएका छन्।

देशभर रास्वपाको लहर देखिएका बेला पुराना दलबाट प्रत्यक्षतर्फ निर्वाचित हुने एक मात्र महिला सांसद का रूपमा बासना थापा चुनिएकी छन्।

कांग्रेसको पुरानो गढ

दैलेख–१ विगतमा कांग्रेसको बलियो क्षेत्र मानिन्थ्यो। २०४८, २०५१ र २०६४ का निर्वाचनमा कांग्रेसका गणेशबहादुर खड्का लगातार विजयी भएका थिए। तर २०७० को दोस्रो संविधानसभा निर्वाचन मा एमालेका अमरबहादुर थापा ले खड्कालाई पराजित गर्दै यस क्षेत्रमा कम्युनिस्टको झण्डा फहराएका थिए।

त्यसपछि गठबन्धनको राजनीति कारण कांग्रेसले यहाँ आफ्नै उम्मेदवार उठाउन सकेको थिएन। २०७४ मा हलो र २०७९ मा हँसिया–हथौडा चिन्हमा कांग्रेस समर्थकहरूले मतदान गरेका थिए।

दोस्रो प्रयासमा सफलता

१२ वर्षपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाउँदा कार्यकर्ता र समर्थकहरू पुनः रुख चिन्हमा फर्किएका हुन्। बासना थापाका लागि यो जनप्रतिनिधि बन्ने दोस्रो प्रयास हो।

उनी २०७४ को स्थानीय तह निर्वाचन मा दैलेखको नारायण नगरपालिका उपप्रमुख पदमा उम्मेदवार बनेकी थिइन्। त्यसबेला एमालेकी सावित्री मल्ल सँग उनी पराजित भएकी थिइन्।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म

२०३७ साल जेठ १५ गते काठमाडौंमा जन्मिएकी थापा २०५७ सालदेखि कांग्रेस निकट विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएकी हुन्। २०६१ सालदेखि दैलेखमा कांग्रेसको क्रियाशील सदस्य बनेकी उनले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन्।

थापा सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् र उनी होटल व्यवसाय सँग समेत जोडिएकी छन्। कांग्रेसको १४औँ महाधिवेशन मा उनी शेखर समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेकी थिइन्। उनी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि समेत रहिसकेकी छन्।

भारतको भीमराव अम्बेडकर विश्वविद्यालय बाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी थापा हाल दैलेखको नारायण नगरपालिका की स्थायी बासिन्दा हुन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया