
सुर्खेत : वीरेन्द्रनगरस्थित ह्याप्पी फन पार्कमा सञ्चालन भइरहेको सांस्कृतिक महोत्सवमा अब दर्शकहरूले ‘जलपरी’ समेत अवलोकन गर्न पाउने भएका छन्। मंगलबारदेखि सुरु गरिएको उक्त आकर्षक प्रस्तुतीले पार्कमा आउने दर्शकको उत्साह र चहलपहल थप बढाएको छ।
आन्तरिक पर्यटन प्रवद्र्धन तथा मनोरञ्जनलाई लक्ष्य गर्दै सञ्चालन गरिएको ह्याप्पी फन पार्कमा सांस्कृतिक कार्यक्रम, विभिन्न खेल तथा मनोरञ्जनका गतिविधिसँगै जलपरी शो मुख्य आकर्षणका रूपमा थपिएको हो। पार्क संचालक रामू गौतमका अनुसार मंगलबारदेखि नियमित रूपमा ‘जलपरी’ शो सञ्चालन गरिएको छ र दर्शकहरूलाई अवलोकन गर्न आग्रह गरिएको छ।
विशेषगरी साँझपख सञ्चालन हुने जलपरी शोमा रंगीन बत्ती र संगीतको तालमा नाच्ने पानीका फोहराले पार्कको वातावरणलाई निकै आकर्षक बनाउने गरेको छ। यसले बालबालिका मात्र नभई युवायुवती तथा वृद्धवृद्धासमेतलाई मनोरञ्जन प्रदान गरेको छ।
पार्कमा नियमित रूपमा सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूले गीत, नृत्य र लोकसंस्कृतिसँग सम्बन्धित प्रस्तुति दिँदै आएका छन्। कर्णाली क्षेत्रका मौलिक भेषभूषा र परम्परागत नृत्यले दर्शकको विशेष मन जितिरहेको छ।
बालबालिकाका लागि झूला, स्लाइड, ट्राम्पोलिन, पिङ, मिनी ट्रेन लगायतका विभिन्न खेल सामग्रीको व्यवस्था गरिएको छ। अभिभावकहरू आफ्ना सन्तानसँगै पार्कमा रमाउने गरेका छन् भने सुरक्षित र सफा वातावरणका कारण परिवारसहित घुम्न आउनेको संख्या बढ्दो छ।
स्थानीय व्यवसायीहरूका अनुसार पार्कमा बढ्दो भीडका कारण आसपासका होटल, रेष्टुरेन्ट तथा साना व्यवसायहरूमा पनि ग्राहकको संख्या बढेको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको बताइएको छ।
ह्याप्पी फन पार्क सुर्खेत अहिले परिवारसहित मनोरञ्जन लिनका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जलपरी शो, सांस्कृतिक कार्यक्रम र बालबालिकाका खेलहरूले पार्कलाई थप जीवन्त बनाएका छन्। आयोजकका अनुसार आगामी दिनमा पनि वर्षभरी नै नियमित सांस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ।



प्रदेश पोष्ट । २०८२ चैत्र १० गते मङ्गलवार