काठमाडौं । अब गुगल आफैंले रिफर्बिस्ड अर्थात् पहिल्यै प्रयोग भइसकेका पिक्सेल फोन बेच्ने भएको छ । एक ब्लग पोस्टमार्फत कम्पनीले यस्तो कदम चाल्न लागेको जनाएको हो ।
गुगलका अनुसार सुरुवाती चरणमा पिक्सेल सिक्स, पिक्सेल सिक्स ए र पिक्सेल सेभेन फोन किन्न सकिने छ । ग्राहकले यी फोन वास्तविक मूल्यभन्दा ४० प्रतिशत छुटमा किन्न सक्नेछन् । यसका साथै ग्राहकले नयाँ फोन खरिद गर्दा जस्तै एक वर्षसम्म वारेन्टी समेत पाउनेछन् ।
फोनको ब्याट्री, क्यामेरा, हाउजिङ, स्क्रिन लगायतका पार्ट मर्मत गरी बिक्रीमा राखिने गुगलले जनाएको छ । कम्पनीका अनुसार पुराना फोनको कुनै पनि सामान फेर्नु पर्दा आधिकारिक सामान मात्र प्रयोग गरिने छ ।
त्यसैगरी फोनमा पछिल्लो एन्ड्रोइड सफ्टवेयर प्रि-इन्स्टल हुने बताइएको छ । यसका साथै नयाँ बक्समा प्याक गरिएको हुनेछ भने चार्जर नि:शुल्क दिइने छ ।
हाल रिफर्बिस्ड फोनको बिक्री वितरण अमेरिकी बजारमा मात्र हुनेछ ।
प्रदेश पोष्ट । २०८१ कार्तिक १५ गते बिहिवार