कुनै पनि बटन नभएको स्मार्टफोन ल्याउँदै साओमी

काठमाडौं । चिनियाँ प्रविधि ब्रान्ड साओमीले बटनरहित स्मार्टफोन ल्याउने भएको छ । हालै बाहिरिएको एक खबर अनुसार, सन् २०२५ को मध्यतिर सार्वजनिक गर्नेगरी कम्पनीले यो स्मार्टफोन विकास गरिरहेको छ ।

साओमीको यो फोनलाई ‘Zhuque’ कोडनेम दिइएको छ । जसमा बाहिरबाट देखिने गरी कुनै पनि पावर र भोल्युम बटन नहुने जनाइएको छ । यसको अर्थ फोनमा जेस्चर कन्ट्रोल (इशारा), प्रेसर-सेन्सिटिभ एज वा भ्वाइस कमाण्डको संयोजन हुने अनुमान छ ।


यस फोनमा रहने अन्डर-डिस्प्ले सेल्फी क्यामेरा सामसङको प्रविधिभन्दा पनि राम्रो हुने चर्चा छ । त्यस्तै, फोनमा क्वालकमको नयाँ स्न्यापड्रागन ८ प्लस जेन फोर चिपसेट प्रयोग गर्ने बताइएको छ । यो प्रोसेसर साओमी १५एस प्रोमा पनि प्रयोग हुनेछ ।

साओमीले भने अहिलेसम्म बटनरहित स्मार्टफोनबारे कुनै जानकारी दिएको छैन । साओमीसँग प्रतिस्पर्धामा रहेका अन्य चिनियाँ ब्राण्डहरूले पनि यस प्रविधिको विकास गरिसकेका छन् । परम्परागत बटनहरूको ठाउँमा टच, स्वाइप वा ह्याप्टिक फीडब्याक जस्ता नयाँ प्रविधिहरू प्रयोग गर्ने योजनामा स्मार्टफोन निर्माता छन् ।

भौतिक बटन नराख्दा स्मार्टफोनको डिजाइन अझ सरल र आकर्षक हुनुका साथै पानी, धुलो लगायतबाट सुरक्षा मिल्ने विश्वास गरिएको छ । साथै, यसले इन्टरफेसलाई पनि सरल बनाउने र प्रयोगकर्तालाई थप सहज अनुभव प्रदान गर्नेछ ।

बटनरहित स्मार्टफोनले भविष्यको प्रविधिलाई कस्तो आकार दिनेछ र यसले प्रयोगकर्तालाई कस्तो अनुभव प्रदान गर्नेछ भन्ने कुरा त्यतिबेलै थाहा होला । तर, यो अवधारणाले स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात पक्कै गर्नेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया