कर्णालीमा उद्यमशीलता प्रेरणा सम्मेलन हुँदै

कर्णालीमा उद्यमशीलता प्रेरणा सम्मेलन हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको आयोजनामा कर्णालीमा उद्यमशीलता बृद्धि गर्न उद्यमशीलता प्रेरणा सम्मेलन आयोजना गर्न लागिएको हो ।

उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले मंगलबार पत्रकार सम्मेलन गरी कर्णालीमा आयोजना हुन लागेको उद्यमशीलता प्रेरणा सम्मेलनका बिषयमा जानकारी दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको प्रमूख आतिथ्यतामा हुने सम्मेलनमा राष्ट्रिय स्तरका सफल उद्यमी तथा व्यवसायीका साथै कर्णालीका उद्यमी युवा तथा उद्यम गर्न चाहाने युवाहरुको व्यापक रुपमा सहभागिता रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले भने, आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा हो । आर्थिक समृद्धि विना देशको विकास र नागरिकको जिवनस्तरमा आमूल रूपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनौति बनेको आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्नका लागि व्यापक आर्थिक लगानि र उद्यमशिलता प्रवद्र्धन जरूरी छ । त्यसैका लागि बुधबार सुर्खेतमा कर्णाली प्रदेश स्तरिय उद्यमशिलता प्रेरणा सम्मेलन आयोजना गरेका छौं ।

उनले भने, युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो । बृत्त, बजार जानकारी, र व्यापार नेटवर्कमा पहुँच युवा उद्यमीहरूले सामना गर्ने केही प्रमुख अवरोध रहेका छन् । उद्यमशील सोच भएका युवाहरूका लागि रहेका यस्ता अवरोध हटाउन सहयोग गर्नेु सम्मेलनको उद्देश्य हो ।

नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरू एक ठाउँमा हुने यो सम्मेलनमा विभिन्न मन्त्रालय लगायत देशका नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेछ । विभिन्न बैंक, बैंकरहरू, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु, उद्यमशीलता इकोसिस्टम साझेदारहरूका साथै निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।

उधमि बन्न चाहने र आफै स्वरोजगार बन्न चाहने युवाहरूको सहभागिता हुने सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरूसँग चरणवद्द छलफल गरिनेछ । कार्यक्रममा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरू, प्रादेशिक प्रतिनिधित्व हुनेगरि युवा सहभागिता रहनेछ । दोस्रो चरणमा स्थानीय उद्यमी सिर्जनामा केन्द्रित भएर युवाहरूले सीप विकास कार्यक्रमहरूबाट लाभ लिन सक्ने क्षेत्रहरू पहिचान गर्न आवश्यकता मूल्याङ्कन गरिने छ । कर्णाली सम्मेलनपछि मुलुकका सातै प्रदेश, जिल्लाहुँदै स्थानीय तहसम्म उद्यमशीलता सम्बन्धि कार्यक्रम गरिनेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया