विपद् तथा भूकम्पीय पूर्वतयारीमा नीजि क्षेत्रको भूमिका विषयक गोष्ठी

कर्णालीको भौगोलिक जोखिमता, सहरी क्षेत्रको ‘विपद् तथा भूकम्पीय पूर्वतयारीमा नीजि क्षेत्रको भूमिका’का विषयमा कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्याशाला गोेष्ठीमा नीजि क्षेत्रहरुले जस्तोसुकै विपद् प्रतिकार्यमा सरकारलाई आवश्यक सहयोग गर्दै आएको बताएका छन् । गोष्ठीमा बोल्दै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश समिति अध्यक्ष लिलाराम सुवेदीले जस्तोसुकै विपद् या मानवीय समस्याका क्षेत्रमा रेडक्रसले स्थापना कालदेखि आफ्ना कार्यलाई बढोत्तरी गर्दै आईरहेको बताउनुभयो ।

उहाँले विपद्मा रेडक्रसले सरकारसँग सहकार्य गर्दै आफ्ना कामकारवाहीहरुलाई जनसेवामा समर्पित गरेको जनाउनुभयो । उद्योग बाणिज्य महासंघ, कर्णाली प्रदेशका प्रेम भण्डारीले सरकारप्रति नीजि क्षेत्र जहिले पनि उद्धार रहेको तर सरकार नीजि क्षेत्रप्रति उदासिन रहेको बताउनुभयो । विपद् पूर्वतयारी तथा प्रतिकार्यमा नीजि क्षेत्र सरकार सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने उहाँको प्रतिवद्धता थियो ।

नेपाली सेनाका प्रमुख सेनानी असीम श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्यका साथ खोज तथा उद्धारमा सेना जतिबेलामा पनि तैनाथी अवस्थामा रहेको जनाउनुभयो । कर्णाली भूकम्पीय विपद्को उच्च जोखिममा भएकोले मानवीय तथा सम्पतिको सुरक्षा गर्न, खोज तथा उद्धार कार्यलाई छरितो बनाउन नेपाली सेनाको तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशका ईन्जिनियर विशेष शर्माले विपद् जोखिम न्यूनीकरणका लागि सडकको स्तरोन्नति, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिइएको बताउनुभयो । युएनडिपी सुपरपरियोजनाका प्राविधिक अधिृकत कृष्ण चापागाईले कर्णालीमा विपद् र भूकम्पीय जोखिमका अवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले विपद्को अग्रमोर्चामा रहेर काम गर्दै पत्रकार स्वयंले जोखिम मोल्नु परेको बताउनुभयो । विपद्को समयमा पत्रकारहरुले आफ्नो संवेदनशीलतालाई ध्यानमा राखेर पत्रकार सञ्चारकर्मीहरुले काम गर्दै आएको उहाँको भनाई थियो ।

उक्त अन्तरक्रियात्मक गोष्ठीमा भिरालो जमीन, छरिएका बस्ती, जथाभावी खनिएका सडक र कमसल भौतिक संरचनाका कारण कर्णालीमा ठूलो क्षति हुने अवस्थालाई अध्ययन तथा नक्साङ्कन गरी आउने विपद्बाट बच्न कहिले, कहाँ, कसले, के गर्ने र जिम्मेवारी के हुने भन्नेबारेमा तीन वटा समुह निर्माण गरी समुह कार्यसमेत गरिएको थियो ।

राष्ट्रिय बीमा प्राधिकरण, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय समाचार समिति, निर्माण, औषधि, यातायात व्यवसायी संघ, नेपाल ईन्स्योरेन्स प्रोफेश्नल संघ, राष्ट्रिय अपाङ् महासंघ, एम्बुलेन्स चालक एशोसियसन, कर्णाली प्रदेशको सहभागिता रहेको सो गोष्ठीमा युरोपियन युनियनको आर्थिक, युएनडिपी, युएन वुमनको प्राविधिक सहयोगमा सुन्दर नेपालले स्थानीय सहजीकरण गरेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया