आठबिसमा विद्यार्थीबाट पैसा असुल्दै

दैलेखको आठबिस नगरपालिका – ७ स्थित श्री झाउरे पिपल आधारभूत बिद्यालयले विद्यार्थीबाट परिक्षा शुल्कको नाममा पैसा उठाउने भएको छ । २०८० फागुन १० गते प्रधानाध्यापक लक्ष्मी शाहीको अध्यक्षतामा बसेको शिक्षक बैठकले परिक्षा शुल्कको नाममा विद्यार्थीबाट पैसा लिने निर्णय गरेको हो ।

शिक्षकहरुको निर्णय अनुसार कक्षा ४ बाट ५० रुपैँया, ५ बाट ८० रुपैँया ६ बाट ९० रुपैँया, ७ बाट १ सय रुपैँया र कक्षा ८ बाट ११ सय रुपैँया प्रतिविद्यार्थीबाट लिने निर्णय भएको हो ।

गरिव विद्यार्थीहरु शुल्क तिर्ने निर्णय हुँदा तिर्न नसक्ने अवस्थामा रहेका छन् । निशुल्क शिक्षा भनेपनि विद्यालयबाट विभिन्न नाममा शुल्क उठाईने गरेको गुनासो पनि आउन थालेको छ ।

नगर स्तरिय कक्षा ८ को परिक्षामा सहभागी बिद्यार्थीबाट १ हजार १ सय रकम उठाईएको गुनासो अभिभावकले गरेका छन् । तर, नगर पालिका शिक्षा शाखा प्रमुख प्रेम खनालले बिद्यालयले विद्यार्थीबाट पैसा लिन नमिल्ने र लिएको भेटिएमा कानुनी रुपमा अगाडी बढ्न सकिने बताए ।

विद्यार्थीबाट शुल्क लिने गरेको बारेमा आफुलाई थाहा नभएको विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर शाहीले बताए ।

कक्षा ४ देखि ८ सम्मका विद्यार्थीबाट न्युनतम शुल्क लिने गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी शाहीले बताईन् । विद्यालयको आयश्रोत नहुँदा विद्यार्थीबाट परिक्षाका लागि पेपर किन्नको लागि सामान्य शुल्क लिने निर्णय भएको शाहीको भनाई छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया