संसद् महासचिवमाथि छानबिन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको चुनौती

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसद् महासचिवमाथि छानबिन गरी कारबाही गर्न चुनौती दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसद्को महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे । शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसद्को महासचिवको तीन वटा नागरिकता र दुई वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए ।

सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए । उनले आगामी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित मन्त्रीहरूलाई बर्खास्त गरेको जवाफसहित संसद्मा सम्बोधन गर्न आउन माग समेत गरे ।

उनले भने, “संसद्ले बनाएको तालिकाबमोजिम फागुन १३ र १४ गते हाम्रो बैठक छ । उपयुक्त समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्यूलाई रह्यो । सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यी सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु ।”

उनले सरकार प्रतिनिधिसभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसदमा ल्याउने तागत एमालेसँग रहेको बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया