सुर्खेत, कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीति तथा विकाससँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार बिहान ८:०० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेशको यातायात व्यवस्था सुधारदेखि पूर्वाधार विकाससम्मका विषयमा निर्णय गरेको हो।
बैठकले “कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२” स्वीकृत गर्ने निर्णय गरेको छ। यस निर्णयले प्रदेशभित्र सवारी साधन सञ्चालन, व्यवस्थापन तथा नियमनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, कालिकोट जिल्लाको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरिएको छ। यसले दुर्गम क्षेत्रको पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ।
यसैगरी, जाजरकोट जिल्लाको “वडावन सानाखोला सडक” लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरिएको छ। यस सडक निर्माणले स्थानीयस्तरमा आवतजावत र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेशको समग्र विकास र सेवा प्रवाह सुधारका लागि यस्ता निर्णयहरू महत्वपूर्ण हुने बताएका छन्।


प्रदेश पोष्ट । २०८३ बैशाख ८ गते मङ्गलवार