संघीय सरकारको तयारीबिना खेलकुद सम्भव छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर संघीय सरकारको तयारीप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले मिति घोषणा गर्नु मात्र पर्याप्त नभई खेलकुद सञ्चालन हुने सुनिश्चित तयारी आवश्यक रहेको स्पष्ट पारे।

मंगलबार सुर्खेतमा संघीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री कँडेलले संघीय सरकारको कमजोरी औँल्याउँदै भने, “मिति तोक्नु राम्रो हो, तर खेल नै नहुने अवस्था बनाउनु गलत हो।”

मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमै आयोजना गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन आवश्यक सबै सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। तर संघीय सरकारले पटक–पटक मिति सार्दै आएको र अहिलेसम्म आवश्यक तयारी नदेखिएकोमा उनले असन्तुष्टि जनाए।

उनले खेलकुदका लागि आवश्यक सामग्री खरिद प्रक्रिया समेत सुरु नभएकोतर्फ ध्यानाकर्षण गराउँदै प्रश्न गरे, “फागुनमै खेल गराउने भनिएको छ, तर एक महिनाभित्र कसरी सम्पूर्ण तयारी सम्भव हुन्छ?”

मुख्यमन्त्री कँडेलले कर्णालीमा केवल उद्घाटन गरेर अन्यत्र खेल सञ्चालन गर्ने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै प्रदेश सरकार यस्तो अवस्थालाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे। साथै, प्रतियोगिता सारिँदै जानुमा संघीय सरकारकै कमजोरी रहेको जनाउँदै जनतालाई भ्रममा नपार्न आग्रह गरे।

“हामी खेलकुद हुनुपर्छ भन्ने पक्षमा छौँ,” उनले भने, “तर पटक–पटक मिति तोकेर खेल नगराउने काम बन्द हुनुपर्छ।”




फेसबुकबाट तपाईको प्रतिक्रिया