बस्तीमै देखिन थाले बाघ, सल्यानका स्थानीय डरको छायामा

सल्यान — कालीमाटी गाउँपालिका–७ पर्सेनी मा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएपछि समग्र क्षेत्र भयको वातावरणमा छ। शुक्रबार घर नजिकैको जंगलमा घाँस र दाउरा लिन गएकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी त्रसित बनेका हुन्।

घटनापछि पनि बाघको गतिविधि रोकिएको छैन। शनिबार बाघले स्थानीयको गोरु मारेको र बस्तीनजिकै पुनः देखिएको खबर आएपछि पर्सेनी आसपासका घुईयाबारी, बाटुले, ज्यामिरे, आम्बास, र्याङ, भेरीखुरी र हाउखोला क्षेत्रका बासिन्दा अझै डरमा छन्।

बाघको त्रासका कारण स्थानीयले जंगल जान छाडेका छन्। घाँस–दाउरा संकलन पूर्ण रूपमा ठप्प भएको छ भने बाँके राष्ट्रिय निकुञ्ज बाट खटिएको सेनाको टोलीले अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेपछि मोटरसाइकलसमेत प्रयोग गर्न स्थानीय हिच्किचाएका छन्। यसले बिरामी र आपतकालीन अवस्थाका मानिसलाई थप समस्या सिर्जना गरेको छ।

स्थानीयवासीले बस्ती पस्ने बाघको उचित व्यवस्थापन गर्न नसकिने हो भने सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। घुईयाबारीका हिमाल पुनका अनुसार, विगतमा रातिको समयमा चौपायामाथि आक्रमण हुँदै आएको भए पनि यसपटक मान्छेको ज्यान गएपछि असुरक्षाको भावना झनै बढेको छ।

“सरकारले ज्यानभन्दा बाघलाई बढी महत्त्व दिँदा हामी विस्थापित हुने अवस्था आउँदैछ,” उनले भने।

अहिले पालिकाले जाडो बिदा दिएकोले विद्यालय बन्द छन्। तर विद्यालय खुलेपछि बालबालिकाको सुरक्षालाई लिएर गम्भीर चिन्ता रहेको स्थानीय मोतिलाल रावतले बताए।

कालीमाटी–७ का वडाध्यक्ष मिक्रलाल रिजालका अनुसार पछिल्ला दुई वर्षयता सुर्खेत–सल्यान सीमाक्षेत्रमा बाघको आक्रमणबाट चार जनाको ज्यान गइसकेको छ। बाघको निरन्तर त्रासले विद्यालय जाने बालबालिका सबैभन्दा बढी जोखिममा परेको उनले बताए।

करिब ७ सय परिवार रहेको यस वडाबाट पछिल्ला केही वर्षमै करिब २ सय परिवार बसाइँ सर्न बाध्य भएको वडाध्यक्ष रिजालको भनाइ छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया