सुर्खेत — मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणको शिलान्यास कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न गरिएको छ। आश्रम विकास समिति तथा स्थानीय समुदायको सहभागितामा चारकुनेस्थित निर्माण स्थलमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट १ करोड ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ।
मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रमलाई चारकुने क्षेत्रको पहिचानसहित देशभर चिनाउन सकिने उल्लेख गर्दै सामुदायिक सहभागिता बढाउन आग्रह गर्नुभयो।
“सामाजिक सदभाव र एकता कायम राख्ने उद्देश्यले आश्रमको निर्माण कार्य गुणस्तरीय र समयमा सम्पन्न गरिनुपर्छ,” उहाँले भन्नुभयो।
यस क्रममा उहाँले वीरेन्द्रनगर चक्रपथ निर्माणका काम तीव्र गतिमा अघि बढिरहेको जानकारी पनि गराउनुभयो।
त्यसैगरी, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीलाई ‘सडक मानवमुक्त प्रदेश’ घोषणा गरिएको स्मरण गर्दै अन्य जिल्लामा पनि भूगोलअनुरुप आश्रम निर्माण विस्तार गरिने बताउनुभयो।
“सरकारी घोषणालाई व्यवहारमा उतार्न एउटै संस्थामा भर पर्नु हुँदैन। प्रदेश सरकारले मानवता प्रवर्द्धनलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ,” मन्त्री भण्डारीले स्पष्ट पार्नुभयो।
कार्यक्रममा मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले महायज्ञमार्फत संकलित दान रकमको सदुपयोग सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, भवन नजिकै धार्मिक पार्क निर्माण गर्न मुख्यमन्त्री र मन्त्रीसँग माग गर्दै ज्येष्ठ नागरिकमैत्री मनोरञ्जनात्मक स्थलको सम्भावनासमेत प्रस्तुत गर्नुभयो।


प्रदेश पोष्ट । २०८२ मङ्सिर १९ गते शुक्रवार