दशैंका लागि सुकीला नोट सटही भदौ २९ गतेदेखि

काठमाडौं, आगामी बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकीला नोट सटही कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्तरीय कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट यस वर्ष सुकीला नोट सटही सेवा उपलब्ध गराइने भएको हो।

राष्ट्र बैंकका अनुसार नोट सटही कार्यक्रम भदौ २९ गतेदेखि असोज १० गतेसम्म सञ्चालन हुनेछ। सो अवधिभर नियमित कार्यालय समयमै सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट नोट सटही गर्न सक्नेछन्।

यसका साथै, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले प्रत्येक वर्षजस्तै यस वर्ष पनि बडादशैंलाई ध्यानमा राखी जनताका लागि सहजतापूर्वक नयाँ र सुकीला नोट उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया