
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “असुस नेपाल भिजन २०२५” नामक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कर्णालीमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय व्यापारी, डिलर, आईटी व्यवसायी तथा शिक्षा क्षेत्रमा सक्रिय विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मूल उद्देश्य असुस ब्रान्डका ल्यापटप र डिजिटल उपकरणहरूलाई कर्णाली प्रदेशमा कसरी अझ प्रभावकारी ढंगले प्रवर्द्धन गर्ने र स्थानीय आवश्यकताअनुसार सेवा तथा आपूर्ति प्रणालीलाई कसरी सुदृढ पार्न सकिन्छ भन्ने विषयमा रणनीतिगत छलफल गर्नु रहेको थियो।
कार्यक्रममा असुस नेपालका कन्ट्री म्यानेजर श्री अविनाश भोसल, सेल्स म्यानेजर श्री संजय रोउनीयार र मार्केटिङ प्रमुख श्री रमेश शाहले कम्पनीको भावी योजना, रणनीति र कर्णाली प्रदेशप्रति लक्षित कार्यदिशा प्रस्तुत गरे।
कन्ट्री म्यानेजर श्री भोसलले सम्बोधन गर्दै भने, “कर्णाली प्रदेशमा सूचना प्रविधिको पहुँच र आवश्यकता दुवै तीव्र गतिमा बढिरहेको छ। असुसको लक्ष्य यहाँका युवाहरू, विद्यार्थी, शिक्षक तथा व्यावसायिक प्रयोगकर्तालाई गुणस्तरीय ल्यापटप र प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउनु हो। हामी स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै आगामी दिनमा अझ सशक्त नेटवर्क निर्माण गर्नेछौं।”
कार्यक्रममा असुसको आधिकारिक वितरण साझेदार नियोटेरिक नेपालका च्यानल पार्टनर उपाध्यक्ष श्री योगेश रॉय तथा प्रोडक्ट म्यानेजर श्री कौशल देवकोको विशेष उपस्थिति रहेको थियो। उनीहरूले बजारको अवस्था, प्राविधिक सम्भावनाहरू तथा स्थानीय डिलर सपोर्टबारे आफ्ना विचार राख्दै, कर्णाली प्रदेशलाई प्रविधिको हिसाबले अग्रणी बनाउने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रमको व्यवस्थापन तथा समन्वय असुसको कर्णाली प्रदेशका आधिकारिक विक्रेता क्वीक कम्युटर, सुर्खेतले गरेको थियो। क्वीक कम्युटरले लामो समयदेखि कर्णालीमा आईटी सेवा र समाधान प्रदान गर्दै आएको एक विश्वसनीय नाम हो।
कार्यक्रममा सहभागी व्यापारी तथा डिलरहरूले असुसको गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य, विश्वसनीय सेवा र कर्णालीप्रति देखाइएको विशेष चासोलाई सकारात्मक रूपमा स्वागत गर्दै आगामी दिनमा अझ सघन र प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए
प्रदेश पोष्ट । २०८२ असार २२ गते आइतवार