
सल्यान — अविरल वर्षातसँगै आएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १४ घण्टापछि खुलेको छ । सोमबार बेलुकी चोरखोलामा खसेको पहिरो मंगलबार बिहान मात्र जेसिबीले हटाएपछि अवरुद्ध सडक खुलेको हो ।
कपुरकोट गाउँपालिका ३ चोरखोलामा खसेको पहिरोका कारण राप्ती राजमार्ग सोमबार बेलुकी ६ बजेदेखि अवरुद्ध भएको थियो ।
रातिको समयमा जेसिबीले काम गर्न नसकेपछि अवरुद्ध सडक तत्काल खुल्न सकेको थिएन । जसका कारण उक्त सडक खण्डमा चल्ने सवारी साधन र यात्रु अलपत्र परेका थिए ।
सडक खुलेपछि रोकिएका गाडीहरु गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
चोरखोलामा खसेको पहिरो जेसिबीले तीन घण्टा लगाएर हटाएको उनले जानकारी दिए । उनका अनुसार रातिको समयमा जेसिबीले काम गर्न नसकेको र पहिरोसँगै ढुंगा खस्ने क्रम नरोकिँदा राप्ती राजमार्ग लामो समय अवरुद्ध भएको थियो ।
प्रदेश पोष्ट । २०८२ असार १७ गते मङ्गलवार