
कालिकोट । पचालझरना गाउँपालिका कालिकोटले आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाको आर्थिक, प्रशासनिक, सामाजिक तथा सेवा प्रवाहसम्बन्धी गतिविधिहरूको समिक्षा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष देवराज शाहीले गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बमले अर्धवार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको आम्दानी, खर्च, विकास योजना र चालु बजेटका प्रमुख बुँदाहरूबारे प्रष्ट पारेका थिए। उनले सेवा प्रवाहमा देखिएका समस्याहरूलाई विश्लेषण गर्दै सुधारका प्रयासबारे जानकारी गराए।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, महिला समूह, युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले गाउँपालिकाबाट प्रदान गरिने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक सुरक्षा, कृषिसम्बन्धी सेवा आदिमा देखिएका समस्या, ढिलासुस्ती तथा सेवा गुणस्तरप्रति आफ्ना जिज्ञासा र गुनासा राखेका थिए।
स्थानीय जनताले विशेष गरी विद्यालयमा शिक्षक नपुगेको, स्वास्थ्यचौकीमा नियमित औषधि अभाव हुने, कृषि अनुदान प्रभावकारी नभएको, सडक मर्मत अभाव, अपांगता भत्ता वितरणमा ढिलाइ, जस्ता समस्या औंल्याएका थिए।
गाउँपालिका अध्यक्ष देवराज शाहीले जनताले उठाएका सवालहरू प्रति गम्भीर ध्यान दिने प्रतिबद्धता जनाए। उनले भने, “सार्वजनिक सुनुवाई जनताको सरकारप्रतिको विश्वासको आधार हो। जनताले देखाएका कमजोरी र सुझावहरूलाई आगामी नीति तथा योजना निर्माणमा प्राथमिकताका साथ समेटिनेछ।” उनले स्थानीय तहको सरकार जनताको घरदैलोमै सेवा दिने संरचना भएकाले सेवा प्रभावकारी बनाउन सबै तहको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बमले गाउँपालिकाले दिने प्रशासनिक सेवा विस्तारका लागि कर्मचारी प्रशासन अधिक सक्रिय रूपमा लागिरहेको बताएका थिए। उनले भने, “हामी सेवा सरल, सहज र पारदर्शी बनाउन प्रयत्नशील छौं। कर्मचारीतर्फबाट हुने कुनै पनि कमजोरी सुधार्ने प्रतिबद्धता लिएको छु।” साथै, उनले गाउँपालिकाले डिजिटल प्रविधिको अधिकतम प्रयोग गरेर प्रशासनलाई दक्ष र जवाफदेही बनाउनेतर्फ कदम चालिरहेको जानकारी गराए।
कार्यक्रम समापनका क्रममा सहभागीहरूले यस्ता सुनुवाई कार्यक्रमलाई अझ प्रभावकारी र नियमित बनाउन सुझाव दिएका थिए। पचालझरना गाउँपालिकाले आफ्ना योजना, नीति तथा सेवाहरुमा जनताको चासो, प्रतिक्रिया र सल्लाहलाई सशक्त आधार मानेर अगाडि बढ्ने संकेत दिएको छ।
प्रदेश पोष्ट । २०८२ बैशाख ३० गते मङ्गलवार