के एआईले नेपाली शिक्षा प्रणालीमा क्रान्ति ल्याउन सक्छ ?

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रभावबारे गरिएको एक विस्तृत अध्ययनले यसका अवसर र चुनौतीहरू उजागर गरेको छ । नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले एसिया फाउन्डेसनको डेटा फर डेभलपमेन्ट कार्यक्रमअन्तर्गत प्रस्तुत गरेको प्रतिवेदनले एआईलाई नेपाली शिक्षा प्रणालीमा समाहित गर्दा देखिएका पक्षहरूको विस्तृत विश्लेषण गरेको छ ।

अनुसन्धानकर्ताहरूले विद्यार्थी, शिक्षक, प्रशासक, सरकारी अधिकारी, शिक्षाविद् र उद्योगी व्यवसायीहरूसँग संरचित सर्वेक्षण, व्यक्तिगत अन्तर्वार्ता र छलफल गर्दै अध्ययनलाई गहन बनाएका थिए । यस क्रममा एआई टुलहरूको पहुँच, उपयोग र सिकाइमा पार्ने प्रभावलाई लिएर विभिन्न धारणा केलाइएको छ । काठमाडौं उपत्यकाका शैक्षिक संस्थालाई केन्द्रमा राखेर गरिएको अध्ययनले बाहिरी जिल्लाका केही संस्थाहरूलाई समेत समेटेको छ ।

प्रतिवेदनले नेपालमा एआईले शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना देखाए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको देखाएको छ । शिक्षकहरूलाई एआई प्रविधि प्रयोग गर्न आवश्यक तालिमको अभाव प्रमुख बाधाका रूपमा रहेको छ भने विद्यमान पाठ्यक्रम एआईका नवीनतम विकाससँग मेल नखाने हुँदा विद्यार्थीहरू परम्परागत सिकाइमा सीमित छन् । ग्रामीण भेगका विद्यालयमा इन्टरनेट र कम्प्युटिङ पूर्वाधारको अभावले एआई शिक्षालाई थप कठिन बनाएको छ ।

विद्यालय तहमा एआईसम्बन्धी व्यवस्थित पाठ्यक्रम नरहेको अध्ययनले देखाएको छ । केही विश्वविद्यालयले एआईसम्बन्धी विषय समेटे पनि विद्यालय तहका पाठ्यक्रम पुरानो प्रविधिमा आधारित छन् । सूचना प्रविधि पूर्वाधार भए पनि स्रोतसाधनको सीमितता र नियमित प्रयोगको अभाव देखिएको छ । ग्रामीण क्षेत्रका विद्यालयहरूमा प्रविधि प्रयोग गर्न आवश्यक स्रोतसाधन अभाव हुँदा एआई शिक्षामा कठिनाइ उत्पन्न भएको छ ।

स्थानीय उत्पादन र विकासमा ध्यान नदिई बाह्य स्रोतमा निर्भर रहनु एआई उद्योगको अर्को चुनौती बनेको छ । सरकारले एआई नीति त तयार पारेको छ, तर ठोस कार्यान्वयन योजना अझै अपूर्ण छ । वर्तमान कानुनी ढाँचाले पनि एआई-केन्द्रित पहललाई आवश्यक समर्थन गर्न नसकेको अध्ययनले देखाएको छ ।

शिक्षक, विद्यार्थी र प्रशासकहरूको तयारी मूल्याङ्कन गर्दा एआई साक्षरतामा असमानता रहेको देखिएको छ । शहरी क्षेत्रका प्रविधिमैत्री विद्यालयमा मात्र यसको प्रयोग सिमित रहेको पाइयो । विद्यार्थीहरूले अनलाइन प्लेटफर्ममार्फत एआई टुलहरू प्रयोग गरे पनि शिक्षकहरूले कक्षा कोठामा यसको प्रयोग गर्ने प्रवृत्ति न्यून रहेको देखिएको छ । शिक्षकहरूलाई तालिमको अभाव तथा विद्यार्थीका लागि उन्नत एआई सीप विकास कार्यक्रमको कमी स्पष्ट देखिएको छ ।

शिक्षामा एआईको प्रयोगलाई लिएर शिक्षकहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ । युवा शिक्षकहरू एआईलाई अपनाउन इच्छुक देखिए पनि पुराना शिक्षकहरूले यसको विश्वसनीयता र मानव शिक्षकको भूमिकामा पर्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीहरूले एआई टुलहरूसँग परिचय राखे पनि सिकाइमा भावनात्मक बुद्धिको आवश्यकतालाई महत्त्वपूर्ण ठानेका छन् ।

एआई शिक्षामा एकीकृत गर्न तालिम कार्यक्रम, डिजिटल पहुँचमा असमानता र पाठ्यक्रम अद्यावधिक गर्नुपर्ने आवश्यकतालाई अध्ययनले औंल्याएको छ । उद्योगी व्यवसायीहरूले एआई सीप भएका जनशक्तिको माग बढ्दै गएको देखाएका छन् भने विश्वविद्यालयहरूले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्ने देखिएको छ । सरकारका नीतिहरूमा विद्यार्थीहरूका लागि एआई एकीकरण परियोजना अपूर्ण रहेको स्वीकार गरिएको छ ।

अध्ययनले नेपालमा एआई शिक्षाका लागि संस्थागत पूर्वाधार बलियो बनाउन, शिक्षक प्रशिक्षण तथा एआई साक्षरता कार्यक्रम सञ्चालन गर्न, विद्यार्थीका लागि उपयुक्त पाठ्यक्रम विकास गर्न, डिजिटल समानता कायम गर्न र एआई नीति तथा नैतिक दिशानिर्देश लागू गर्नुपर्ने सुझाव दिएको छ । एआई जनशक्ति उत्पादनका लागि उद्योगसँगको सहकार्यलाई पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालमा एआई प्रयोगको प्रचुर सम्भावना देखिए पनि संस्थागत तयारी र जनशक्ति विकासमा ठूलो खाडल रहेको उक्त अध्ययनले देखाएको छ । यसलाई सम्बोधन गर्न पाठ्यक्रम अद्यावधिक गर्दै पूर्वाधार विकास र आवश्यक तालिम प्रदान गर्न सरकार, शैक्षिक संस्था तथा उद्योग क्षेत्रले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया