यतिबेला नेपाली हलहरूमा फिल्म पूर्ण बहादुरको सारङ्गीले राज गरिरहेको छ। हलहरूले बलिउड फिल्महरूलाई हटाएर फिल्म पूर्ण बहादुरको सारङ्गीको शाे बढाएका छन्। हलहरू हाउसफूल बनेका छन्।
सोही प्रसङ्गलाई लिएर बुधबार निर्माता तथा हल सञ्चालक दीपकराज गिरीले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे। उनले हलहरूमा फिल्म पूर्ण बहादुरको सारङ्गीले आगो बालिरहेको बताउँदै नेपाली फिल्मको भविष्य राम्रो भएको बताएका छन्।
उनले लेखेका छन्, ‘यता पूर्ण बहादुर को सारंगी ले हलहरूमा आगो बालिरहेको छ । क्युएफएक्स हलहरूमा रहेका “छक्का पन्जा “ का शो हरू अझै पनि राताम्मै छन् ! १२ गॉउको पनि त्यस्तै छ !! एक्सन, कमेडी, सेन्टिमेन्टल सबै प्रकारका नेपाली फिल्म चल्नुले नेपाली सिनेमाको भविष्य राम्रो देखाउँछ।’
दिपकले लेखेको यो स्ट्याटसलाई सङ्केत गर्दै अर्का फिल्म निर्देशक, कलाकार तथा निर्माता निश्चल बस्नेतले जवाफ फर्काएका छन्। निश्चलले नाम नै किटान भने गरेका छैनन्। उनले हल सञ्चालन गर्ने एक चलचित्रकर्मी भनेर दीपकलाई सङ्केत गरेका छन्।
निश्चलले लेखेका छन्, कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन्.. ले मौका पाएर ठुलो गफ छाडिहालेनछ , नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बडेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नि त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधैँ नेपाली फिल्मले चैँ प्रमाणित गरिरहनु पर्ने हो , निर्माताले शो थपिदिनु भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ .. विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ.. नेपाली फिल्मले दर्शक खोजेको हो , हलसम्म आफ्नो बलबुताले ल्याएको हो ।यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो !! कमसेकम चलचित्र बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइन… बोल्नभयो , ठिक गर्नुभयो … चिनियो.. !
त्यसो त निश्चलले फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई शो नदिएको भन्दै हलबाट उतारेका थिए। अहिले फिल्म ‘बेहुली फ्रम मेघौली’ओटीटीमा रिलिज भएको छ।
प्रदेश पोष्ट । २०८१ कार्तिक २३ गते शुक्रवार