काठमाडौं । भारतीय फिल्म ‘कान्तारा’का निर्देशक तथा अभिनेता ऋषभ शेट्टीले दीपावलीमा फ्यानलाई उपहार दिएका छन् । उनले आफ्नो नयाँ फिल्म ‘जय हनुमान २’ को फर्स्टलुक सेयर गरेका छन् ।
यो फिल्ममा उनले पवनपुत्र हनुमानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनले भगवान श्रीरामको मूर्ति समातेको देख्न सकिन्छ र उनको लुक्सलाई लिएर फ्यानले हर्षोल्लास मनाइरहेका छन् ।
‘जय हनुमान’ प्रशान्त वर्मा सिनेम्याटिक युनिभर्सको एउटा महत्वपूर्ण प्रोजेक्ट हो, जुन दर्शकमाझ चर्चामा छ । यो फिल्मको अघिल्लो भागले बक्स अफिसमा व्यावसायिक सफलता प्राप्त गरेको छ । यस्तो अवस्थामा यसको सिक्वेल पनि दर्शकमाझ प्रतीक्षित छ ।
‘जय हनुमान’ सबैभन्दा पवित्र र प्रसिद्ध पौराणिक सुपरहिरोको पुनरुत्थानको कथा हो । बुधबार सार्वजनिक फिल्मको फस्टलुकमा ऋषभलाई पनि देखिएपछि यसको सिक्वेल रोचक हुने अपेक्षा गरिएको छ । फिल्ममा उच्च गुणस्तरको भीएफएक्सको प्रयोग हुने जनाइएको छ ।
ऋषभ शेट्टीको वास्तविक नाम प्रशान्त शेट्टी हो तर फ्यानले उनलाई ऋषभकै नामले चिन्छन् । अभिनेताबाहेक उनी एक निर्देशक, निर्माता, पटकथा लेखक र कन्नड फिल्म उद्योगका एक प्रसिद्ध अनुहार समेत हुन् । उनले तीनवटा राष्ट्रिय अवार्ड समेत जितेका छन् ।
प्रदेश पोष्ट । २०८१ कार्तिक १५ गते बिहिवार