काठमाडौं । नेपाली बजारमा चौधरी ग्रुपको सीजी डिजिटलले आफ्ना विभिन्न स्टोरबाट आईफोन १६ बिक्री गर्न थालेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले हालै चौधरी ग्रुपलाई आईफोन १६ बिक्री गर्ने अनुमति दिएको हो ।
“उहाँहरूले आईफोन १६ बिक्री गर्ने अनुमति मागेपछि हामीले पहिलो चरणमा ५० ओटा आईफोन बिलिङ गरेर उपलब्ध गराएका छौं,” जेनेरेसन नेक्स्टका कार्यकारी निर्देशक पवन भिमसरियाले भने, “हामीले चौधरी ग्रुपलाई डिलरको अनुमति दिएका हौं ।”
नेपालमा आधिकारिक रिसेलरको अनुमति हालसम्म ओलिज स्टोर, ईभो स्टोर र जोए स्टोरले पाएका छन् । चौधरी ग्रुपले फोन आफ्ना स्टोरबाट बिक्री गर्नेछ भने रिटेलरलाई बिक्री गर्न पाउनेछैन ।
यससँगै सीजी डिजिटलको स्टोरबाट आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स खरिद गर्न सकिनेछ । सीजीले आफ्ना देशभरका २८ ओटा स्टोरबाट फोन बिक्री गर्ने बताइएको छ । सीजी डिजिटलको वेबसाइटमा पनि आईफोन १६ सिरिजका विभिन्न मोडेल लिस्टिङ गरिएको छ ।
सीजी डिजिटलले पारदर्शी फोनका रूपमा चर्चा पाएको नथिङ ब्रान्डका विभिन्न मोडेलसमेत बिक्री गर्दै आएको छ ।
प्रदेश पोष्ट । २०८१ कार्तिक १५ गते बिहिवार