कान कम सुन्नेहरूका लागि एप्पलले ल्यायो नयाँ एयरपड्स, मूल्य १७ हजार

काठमाडौं । एप्पलले एयरपड्सको नयाँ भर्सन ‘एयरपड्स फोर’ सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले इयरबड्सभन्दा पनि मेडिकल डिभाइसका रूपमा बढी चर्चा गरेको छ ।

श्रवण शक्ति कमजोर भएका व्यक्तिका लागि यो डिभाइस बढी उपयोगी हुने कम्पनीको भनाइ छ । “विश्वमा एक अर्बभन्दा बढी मान्छेमा कान कम सुन्ने समस्या छ । उनीहरूलाई सहयोग गर्नका लागि हामी क्रान्तिकारी क्षमता समावेश गर्दैछौं,” सोमवार आयोजित एप्पल इभेन्टमा कम्पनीकी एक एक प्रतिनिधिले भनिन् ।

यस एयरपड्सलाई ‘हियरिङ एड’ नाम दिइएको छ । कम्पनीका अनुसार यस डिभाइसले आवाजको फ्रिक्वेन्सीलाई बढाउनेछ । यसले गर्दा व्यक्तिको कानसम्म प्रस्ट आवाज पुग्नेछ । यसमा मसिन लर्निङको फिचर पनि समावेश गरिएको छ, जसले वरपरको वातावरणलाई आधार मानी कति फ्रिक्वेन्सीसम्मको आवाज उपलब्ध गराउँदा व्यक्तिले सुन्छ भन्ने विश्लेषण गर्छ । र, त्यही फ्रिक्वेन्सीको आवाज पठाउँछ ।

कम्पनीले यसलाई तीन तरिकाले विश्लेषण गरेको छ । ती हुन् प्रिभेन्सन, अवेयरनेस र असिस्टेन्स । मान्छेले अनावश्यक तीव्र फ्रिक्वेन्सीको आवाज सुन्दा उसको श्रवणशक्ति कम हुँदै जान्छ । यसैलाई कम गर्न कम्पनीले एयरपड्समा अनावश्यक आवाज हटाइदिने फिचर ल्याएको छ ।

त्यस्तै अर्को हो, अवेयरनेस (सचेतना) । स्वास्थ्य परीक्षण गर्न जाने स्वभाव कमैको हुन्छ । अब एप्पलले सार्वजनिक गरेको एयरपड्सले व्यक्तिको श्रवण शक्ति परीक्षण गरिदिनेछ । यसले प्राप्त गरेको डेटामा मोबाइल एपबाट पहुँच पाउन सकिन्छ ।

यसमा भएको अर्को फिचर हो, असिस्टेन्स‍ । यसले कान कम सुन्नेका लागि ‘हियरिङ एड’को काम गर्नेछ । कम्पनीका अनुसार सबैभन्दा पहिले एयरपड्सबाट कानको श्रवण शक्ति परीक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि यसले आवाज सुन्नका लागि त्यसलाई कति चर्को बनाउनु पर्छ भन्ने विश्लेषण गर्छ । र, बाहिरबाट कसैले बोलेको छ भने एयरपड्सले उक्त आवाजलाई ठूलो बनाएर एयरपड्स प्रयोग गर्ने व्यक्तिको कानसम्म पुर्‍याउँछ ।

यो फिचर तत्कालै भने उपलब्ध हुनेछैन । कम्पनीका अनुसार अमेरिकाको खाद्य तथा औषधी प्रशासनले अनुमति दिएपछि मात्र यी फिचर एयरपड्समा उपलब्ध हुनेछन् । सुरुवाती चरणमा यी फिचर विश्वका १०० बढी देशमा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले एयरपड्स फोरको मूल्य १२९ डलर (करिब‍ १७ हजार २९० रुपैयाँ) तोकेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया