आईफोन १६ लाई टक्कर दिन आएको ह्वावे ट्राइ-फोड, मूल्य‌ करिब ३ लाख

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले तीन पटक फोल्ड गर्न सकिने फोन सार्वजनिक गरेको छ । आईफोन १६ सिरिज सार्वजनिक गरेको एक दिनपछि कम्पनीले ‘ह्वावे ट्राइफोल्ड मेट एक्सटी’ फोन सार्वजनिक गरेको हो ।

यस फोनको प्रि-अर्डर शनिबारदेखि नै सुरु भइसकेको थियो । फोन बजारमा भने २० सेप्टेम्बरदेखि नै उपलब्ध हुनेछ । यही दिनदेखि उता आईफोन १६ सिरिज पनि बजारमा उपलब्ध हुँदैछ ।

ह्वावेको यो फोन अहिले चिनियाँ बजारमा मात्र उपलब्ध हुने बताइएको छ ।

कम्पनीले पाँच वर्षसम्म खोज तथा अनुसन्धान गरेर यो फोनलाई अन्तिम रूप दिएर सार्वजनिक गरिएको जनाएको छ । यस फोनको सुरुवाती मूल्य १९ हजार ९९९ युआन (करिब तीन लाख ७६ हजार रुपैयाँ) रहेको छ ।

यो डिभाइस फोल्ड नगर्दा ३.६ एमएम चौडाइको हुन्छ । यसमा १०.२ इन्चको स्क्रिन दिइएको छ ।

फोनको डिस्प्लेलाई एउटा, दुई ओटा वा तीन ओटासम्म स्क्रिन बनाएर हेर्न सकिन्छ । यसमा १.९ एमएम चौडाइ भएको ब्याट्री प्रयोग गरिएको छ । यस फोनले फोल्डेबल किबोर्ड पनि सपोर्ट गर्ने बताइएको छ ।

यो फोन अहिलेसम्म ४० लाख बढीले प्रि-अर्डर गरिसकेका छन् ।

अमेरिकी बजारमा प्रतिबन्धको सामना गरिरहेको ह्वावेले स्थानीय बजारमा बलियो पकड बनाउन कडा रणनीति अपनाएको छ । गत वर्ष आईफोन १५ सार्वजनिक हुँदा ह्वावेले मेट ६० प्रो सार्वजनिक गरेको थियो । यसले पनि चिनियाँ बजारमा आईफोन १५ को बिक्रीलाई घटाएको विश्लेषण गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया