देशका विभिन्न ठाउँमा वर्षा जारी

कर्णाली राजमार्ग फेरि अवरुद्ध

सुर्खेत । देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

यस्तै दाङको लालमटियामा ६९ दशमलव ४ मिलिमिटर र लमहीमा ६५ दशमलव ८ मिलिमिटर तथा पर्साको वीरगञ्जमा ६६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कञ्चनपुरको दोधारा, सुन्दरपुर, हनमान नगर, बाँकेको सिक्टा, दाङको लालमटिया, लमही र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भएर बहने पश्चिम राप्ती नदी, बबई नदी र यसका सहायक ससाना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लगातारको वर्षाले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । हिजो बेलुकीदेखिको वर्षाले कालीकोटको गगनेखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हाे।

यसैबीच आज बेलुकादेखि पर्सि शनिवार बिहानसम्म मनसुन थप सक्रिय हुने भएकाले केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया