आईफोन कसले बनाए ?

काठमाडौं । आजभन्दा १७ वर्षअघि ९ जनवरी २००७ मा एप्पलले आफ्नो पहिलो आईफोन सार्वजनिक गरेको थियो । त्यसबेला स्मार्टफोनको बजारमा ब्ल्याकबेरीको वर्चस्व थियो । ब्ल्याकबेरीलाई प्रतिस्पर्धा गर्ने अर्को कुनै कम्पनी जन्मिएला भन्ने मानिसहरूले सायदै कल्पना गरेका थिए । साढे आठ करोडभन्दा बढी ग्राहक भएको ब्ल्याकबेरी कम्पनीको फोन बोक्ने सोख त्यसबेला प्रायः सबैको थियो ।

ब्ल्याकबेरीको फोन बोक्नुलाई सान अथवा उच्च दर्जाको व्यक्तिका रूपमा हेरिन्थ्यो । सरकारी अधिकारी, धनाढ्य, व्यापारी, ठूला कम्पनीका कर्मचारी यी सबैले त्यसबेला ब्ल्याकबेरीकै स्मार्टफोन प्रयोग गर्थे ।

९ जनवरी २००७ मा स्टिभ जब्सले जब स्टेजमा चढेर आईफोन सार्वजनिक गरे, तब स्मार्टफोनको परिभाषा नै फरक भइदियो । त्यसअघि सन् २००१ मा एप्पलले बजारमा आईपड (गीत संगीत सुन्न मिल्ने डिभाइस) ल्याएको थियो । आईपडले बजारमा राम्रो प्रभाव पारेपछि सन् २००३ मा कम्पनीले आफ्नै आईट्युन म्युजिक स्टोर प्लेटफर्म सुरु गर्‍यो । यसले पनि आईपडलाई क्रान्तिकारी प्रडक्टका रूपमा स्थापित गर्न सहयोग गर्‍यो ।

९ जनवरी २००७ मा स्टिभ जब्स नयाँ प्रडक्ट सार्वजनिक गर्न स्टेजमा चढे । र, सन् १९८४ मा सार्वजनिक भएको म्याकले कम्प्युटर उद्योग र २००१ मा सार्वजनिक भएको आईपडले संगीत उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको कुरा खुलेर सुनाए । अनि, अब सार्वजनिक हुने डिभाइसले स्मार्टफोनको संसार परिवर्तन गर्नेछ भन्ने सङ्केत दिए ।

“आज हामी तीन ओटा क्रान्तिकारी प्रडक्ट सार्वजनिक गर्दैछौं,” स्टिभ जब्सले १७ वर्षअगाडि पहिलो आईफोन सार्वजनिक गर्दै भनेका थिए, “पहिलो प्रडक्ट हो, चौडा स्क्रिन र टच कन्ट्रोल भएको आईपड । दोस्रो हो, क्रान्तिकारी मोबाइल फोन र तेस्रो प्रडक्ट हो, ब्रेकथु इन्टरनेट कम्युनिकेसन डिभाइस ।”

उनको यो स्पिचपछि केहीबेर लगातार ताली बजिरह्यो ।

सबैले यी तीनै ओटा डिभाइसले बजार कब्जा गर्ने अनुमान लगाइसकेका थिए । त्यसअघि एप्पलले बजारमा ल्याएका प्रडक्ट जति उपयोगी सावित भएका थिए, तिनै डिभाइसलाई परिमार्जन गरी कम्पनीले नयाँ प्रडक्ट ल्याएको छ भन्ने त्यहाँ उपस्थित धेरैको अपेक्षा थियो । केही समयसम्म लगातार बजिरहेको तालीलाई रोक्दै उनले अगाडि बोल्न सुरु गरे ।

“यी तीन ओटा कुरा आईपड, फोन र इन्टरनेट कम्युनिकेटर,” उनले लगातार यही वाक्य तीन पटक दोहोर्‍याए ।

यतिबेला त्यहाँ उपस्थित सबैको मुटुको धड्कन बढ्दै गइरहेको थियो । सबैले यी प्रडक्टको अरू विशेषता र कस्तो हुन्छ होला भन्ने कल्पना गरिरहेका थिए । उनले लगातार तीन पटक उही वाक्य दोहोर्‍याएपछि भने, “यी तीन ओटा छुट्टाछुटै डिभाइस होइनन्, यी विशेषता भएको अब एउटै डिभाइस हुनेछ । र, त्यसलाई हामी आईफोन भन्दै छौं ।”

उक्त फोन सार्वजनिक भएको छ महिनापछि अर्थात् २९ जुन २००७ देखि बजारमा बिक्रीका लागि राखियो । त्यसपछिको कथा हामीले देखिरहेकै छौं ।

कसले डिजाइन गरेका हुन् आईफोन ?

पहिले-पहिलेका आईफोनमा एप्पलको लोगोको तल आईफोन क्यालिफोर्नियामा डिजाइन भएको र चीनमा एसेम्बल भएको उल्लेख हुन्थ्यो । पछिल्लो समय बजार आएका आईफोनमा पछाडिपट्टि ग्लास समावेश गरिएको हुन्छ । यसमा लोगो बाहेक कुनै टेक्स्ट राखिएको हुँदैन ।

यद्यपि आईफोनको बक्समा भने ‘डिजाइन इन क्यालिफोर्निया’ र ‘एसेम्बल इन चाइना’ लेखिएको देख्न सकिन्छ ।

सबैभन्दा पहिले आईफोनको डिजाइन र विकास एप्पलका सह-संस्थापक स्टिभ जब्सको नेतृत्वमा गरिएको थियो । उनैले आईफोनको परिकल्पना गरेको बताइन्छ । वाल्टर आइज्याक्सनले लेखेको स्टिभ जब्सको जीवनीमा आईफोन डिजाइन गर्ने टिममा को-को थिए भन्ने उल्लेख गरिएको छ ।

जब्सको नेतृत्वमा आईफोन डिजाइन गर्ने जोनाथन आइभ एक हुन् । जोनि आइभका रूपमा चिनिने उनी त्यसबेला एप्पलका प्रमुख डिजाइनर थिए । उनले आईफोनको हार्डवेयर डिजाइनमा प्रमुख भूमिका खेलेका थिए ।

आइभले आईफोनको प्रारम्भिक डिजाइन अवधारणाबाट यसको अन्तिम उत्पादनसम्मको जिम्मेवारी सम्हालेका थिए । उनी एप्पलको ‘इन्डस्ट्रियल डिजाइन टिम’ का प्रमुख थिए । त्यस्तै आईफोनको डिजाइनलाई सरल, आकर्षक, र प्रयोगकर्ता-मैत्री बनाउनमा उनको ठूलो भूमिका रहेको बताइन्छ ।

त्यस्तै सफ्टवेयर इन्जिनियर एवं एप्पलका पूर्व उपाध्यक्ष स्कट फोर्स्टलले पनि आईफोन डिजाइन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले आईफोनको सफ्टवेयर इन्टरफेस ‘आईओएस’ को विकास गरेका थिए । उनले आईफोनको प्रयोगकर्ता अनुभवलाई मध्यनजर गर्दै भिन्न किसिमको ओएस विकास गर्ने नेतृत्व लिएका थिए ।

त्यस्तै एप्पलकी पूर्व रिटेल प्रमुख एन्जेला आहरेन्ड्सले आईफोनको वितरण र ब्रान्ड व्यवस्थापनमा महत्वपूर्ण योगदान दिइन् । उनका रणनीतिले बजारमा आईफोन सफल बन्दै गयो ।

एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आईफोनको उत्पादन र वितरण प्रक्रियामा थप सुधार ल्याए । उनले सप्लाई चेन मेनेजमेन्टमा नवीनतम रणनीतिहरू लागू गरी आईफोनलाई विश्वभर उपलब्ध गराए ।

कसरी बन्छ आईफोन ?

सबैभन्दा पहिले आईफोनको रिसर्च एन्ड डेभलपमेन्टको काम अगाडि बढ्छ । त्यसपछि आईफोनको डिजाइन क्यालिफोर्नियाको कुपर्टिनोमा अवस्थित एप्पलको मुख्यालयमा हुन्छ । यस टिमले आईफोनको हार्डवेयर, सफ्टवेयर, र प्रयोगकर्ता अनुभवलाई डिजाइन गर्छ । एप्पलका प्रमुख इन्जिनियर, डिजाइनर, र प्रोग्रामरहरू मिलेर डिजाइनलाई मूर्त रूप दिन्छन् ।

यसपछि विभिन्न देशहरूबाट धातु, ग्लास, प्लास्टिकजस्ता कच्चा पदार्थहरू जम्मा गरिन्छ । एप्पलका लागि विभिन्न कम्पनीहरूले चिप, क्यामेरा, ब्याट्रीजस्ता आवश्यक कम्पोनेन्टहरू उत्पादन गर्छन् । त्यसपछि एप्पलका आधिकारिक उत्पादन साझेदारहरूले यी कम्पोनेन्टहरूलाई जोडेर आईफोन बनाउँछन् । यो प्रक्रिया मुख्यतया चीनमा हुन्छ । उत्पादित आईफोनहरूको गुणस्तर परीक्षण सकी प्याकेजिङ गरेर विश्वभरका एप्पल स्टोर र अधिकृत विक्रेताहरूमा पठाइन्छ ।

प्रोडक्सन र एसेम्बलिङ

आईफोनको उत्पादनमा विभिन्न चरणहरू हुन्छन् । आजका मितिसम्म आईफोनको प्रमुख एसेम्बल चीनमा हुँदै आएको छ । आईफोन १६ भने भारतमा पनि एसेम्बल हुने बताइएको छ । आईफोन उत्पादनकै चरणमा यसको प्रोसेसर, क्यामेरा सेन्सर निर्माणका कामहरू हुन्छन् ।

प्रोसेसर: आईफोनको प्रमुख चिप ‘ए सिरिज’ अमेरिकामा डिजाइन गरिन्छ । यसलाई ताइवान सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले ताइवानमा निर्माण गर्छ ।

स्क्रिन: आईफोनको डिस्प्ले दक्षिण कोरियाको सामसङ र एलजी तथा जापानको जापान डिस्प्ले कम्पनी (जेडीआई) द्वारा निर्मित हुन्छ ।

क्यामेरा: आईफोनको क्यामेरा मोड्युलहरू विभिन्न देशहरूमा बनाइन्छ । विशेषगरी जापान र दक्षिण कोरियामा यसको निर्माण हुँदै आएको छ । सोनी कर्पोरेसनले आईफोनका लागि क्यामरा सेन्सरहरू उत्पादन गर्ने गर्छ ।

फिङ्गरप्रिन्ट सेन्सर र फेस आईडी: यी सेक्योरिटी रेकग्निसन कम्पोनेन्ट अमेरिका, युरोप, र एसियाका विभिन्न निर्माता कम्पनीहरूले बनाउँछन् ।

एसेम्बलिङ

आईफोनमा आवश्यक सम्पूर्ण कम्पोनेन्ट तयार भइसकेपछि एसेम्बल प्रक्रिया सुरु हुन्छ । अहिलेसम्म आईफोन एसेम्बल गर्ने काम चीनको फक्सकन (Foxconn), पेगाट्रोन (Pegatron) र लक्सशेयर (Luxshare) जस्ता ठूला म्यान्युफ्याक्चरिङ कम्पनीहरूले गर्दै आएका छन् ।

उनीहरूले आईफोनका विभिन्न पार्ट्सलाई जोड्छन् र अन्तिम उत्पादनका रूपमा तयार पार्छन् ।

डिस्ट्रिब्युसन

एसेम्बल भइसकेपछि एप्पलले आफ्नो उत्पादन विश्वभर पठाउँछ । वितरण केन्द्रहरू मुख्यतया अमेरिका, चीन र युरोपमा अवस्थित छन् । त्यहींबाट आईफोन विश्वभरका देशहरूमा पठाइन्छ ।

यस्तो थियो पहिलो आईफोन

एप्पलले आईफोन विकास गर्न ‘प्रोजेक्ट क्यालिफोर्निया’ नामक एक गोप्य परियोजना सुरु गरेको थियो । यस परियोजनामा कम्पनीका केही प्रतिभाशाली इन्जिनियर र डिजाइनरहरू संलग्न थिए । उनीहरूको लक्ष्य थियो, एउटा यस्तो उपकरण बनाउनु जसले मोबाइल फोनलाई केवल एक फोनभन्दा धेरै बनाओस् । एउटा यस्तो उपकरण जसले हाम्रो हातको हत्केलामा सारा संसारलाई समेटोस् ।

तर यो यात्रा त्यति सहज थिएन । एउटा सानो उपकरणमा शक्तिशाली कम्प्युटरको क्षमता कसरी समेट्ने ? कसरी एकैसाथ फोन, इन्टरनेट, म्युजिक प्लेयर, क्यामेरा र अन्य धेरै सुविधाहरूलाई एकै ठाउँमा ल्याउने ?

दिनरात नभनी एप्पलका इन्जिनियरहरू यी चुनौतीहरूलाई पार गर्न लागिपरे । उनीहरूले नयाँ प्रविधिहरू विकास गरे, पुरानै प्रविधिहरूलाई पनि परिमार्जन गरे । हार्डवेयर र सफ्टवेयर दुवैमा क्रान्तिकारी परिवर्तन गरे । अन्ततः उनीहरूले एउटा यस्तो उपकरण बनाए जसले संसारलाई चकित पारिदियो । त्यो उपकरण थियो, आईफोन ।

आईफोनको आगमनसँगै मोबाइल फोनको परिभाषा नै बदलियो । अब फोनमा कल गर्न र सन्देश पठाउन मात्र होइन, इन्टरनेट चलाउन, गेम खेल्न, फोटो खिच्न, भिडिओ हेर्न, किताब पढ्न र धेरै अन्य कामहरू गर्न सक्ने भयौं ।

३.५ इन्च डिस्प्ले भएको एप्पलको पहिलो आईफोनमा सामसङको एआरएम प्रोसेसर थियो । २ मेगापिक्सेलको मुख्य क्यामेरा भएको उक्त फोनमा सेल्फी क्यामेरा थिएन । यसमा एम्बियन्ट लाइट सेन्सर, मल्टिटच फिचर, एक्सेलेरोमिटर र प्रोक्सिमिटी सेन्सर समावेश थियो ।

१२८ एमबी र्‍याम भएको सो डिभाइस ४, ८ र १६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । त्यस्तै यसमा १४०० एमएएच क्षमताको ब्याट्री राखिएको थियो, जसको मूल्य कम्पनीले ४९९ अमेरिकी डलर कायम गरेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया