१०औं राष्ट्रिय खेलकुद कर्णालीमा हुनु उपलब्धिमूलकः मुख्यमन्त्री शर्मा

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताएका छन्।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रंगशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको जानकारी दिए।

मुख्यमन्त्री शर्माले १० औं राष्ट्रिय खेलकुदको संस्करण कर्णालीमा हुनु प्रदेशका लागि गौरवको विषय भएको भन्दै यसले यहाँको खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी साबित हुने अपेक्षा गरिएको बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित इन्डोर र आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्कको बुधबार शिलान्यास गर्दै ।

‍खेलका माध्यमबाट प्रदेशको पर्यटन प्रवर्द्धनका साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने नीतिअनुसार प्रदेश सरकारले काम गरिरहेको जनाउँदै खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमा छ भन्ने विश्वासका साथ अभ्यास गर्नुपर्नेमा उनले जोड दिए।

उक्त क्रिकेट मैदान वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो। यस क्षेत्रलाई वीरेन्द्रनगरको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको कणाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए।

रु चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ, लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, मैदान कालोपत्र, इन्डोर क्रिकेट हाललगायत पूर्वाधार निर्माण गरिने सञ्ज्यालले जानकारी दिए।

१० औं संस्करणलाई लक्षित गरी मैदान बनाउन लागिएको भन्दै कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहेको उनले जानकारी दिए। ‘दुई खेलकुद मैदान आवश्यक भएकाले आर्को शिलान्यास गरिएको हो,’ उनले भने।

यसअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएकाे थियाे। –रासस




फेसबुकबाट तपाईको प्रतिक्रिया