काठमाडौं । विश्वव्यापी रूपमा डाउन भएको झन्डै ४५ मिनेटपछि मेटाका प्लेटफर्म चल्न थालेको छ । मङ्गलबार साझ एक्कासी मेटाका यी प्लेटफर्ममा समस्या देखिएको थियो ।
विशेषगरी पोस्ट नै नहुने, एडिट गर्न समस्या हुने, कमेन्ट सेक्सन लोड भइरहने र अकाउन्ट आफै लगआउट हुने जस्ता समस्या देखिएका थिए । नेपाली समय अनुसार राति १० बजेर १० मिनेट गएपछि यी प्लेटफर्म पुनः सञ्चालनमा आएका छन् ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रयोगकर्ताले आफूले अकाउन्ट ह्याक भएको आशंका गरी कैयौं पटक पासवर्ड रिसेट गर्दा नभएको, टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि नमिलेको भन्दै गुनासो गरेका थिए ।
मेटाले आधिकारिक रूपमा यी प्लेटफर्म एकाएक किन डाउन भए भन्ने विषयमा कुनै जानकारी दिएको छैन । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स पहिलेकै अवस्थामा रहेको गुनासो गरिरहेका छन् ।
सम्बन्धित समाचारः फेसबुक र इन्स्टाग्राम विश्वभरी डाउन
प्रदेश पोष्ट । २०८० फाल्गुन २२ गते मङ्गलवार