कर्णाली लगानीको सम्भाव्य भएको क्षेत्र होः मन्त्री सिंह

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली लगानीको संभाव्य क्षेत्र भएको बताएका छन् ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन)को आज दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कर्णाली पानी, खानी र पर्यटनको प्रचुर संभावनाको प्रदेश भएको बताए ।

महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै आन्तरिक मामिला मन्त्रालय तथा आईसिटी नेपालप्रति कृतज्ञता प्रकट गर्नुभएका उनले भने, “हामीसँग प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वका सम्पदाहरु छन् । रैथानेबाली, जडिबुटी र बहुमूल्य पत्थरसहित ती सबैको आवश्यक पहिचान गरी लगानीको वातावरण सृजना गर्नुपर्दछ । प्रदेश सरकार यसमा लागिरहेको छ ।”

संघीयता आउनुपूर्व कर्णालीका धेरै ठाउँमा बाटो नभएको तर अहिले यहाँका करिब धेरै स्थानीय तहमा बाटो र बैंक पुगेको बताउँदै उहाँले अब कर्णालीले प्रविधि सम्मेलनको सहयोगबाट समयको बचत गरी विकास पूर्वाधार र प्रशासन सञ्चालन गर्ने जनाए । राज्यले कर्णाली र भेरी करिडोरको शीघ्र विकास गरेको खण्डमा कर्णाली मुलुककै आकर्षक गन्तव्य बन्ने उनको भनाई थियो ।

एउटै क्षेत्रबाट संसार देखाउन आईसिटीको ठूलो महत्व रहेको बताउँदै मन्त्री सिंहले भन्नुभयो, “प्रविधि सम्मेलनमा कर्णालीको तल्लो तहले पनि यसमा प्रतिनिधित्व गर्ने र सिक्ने अवसर पाएको छ । अब सम्मेलनले एउटा घोषणापत्र तयार गर्नेछ । जसलाई आधार बनाएर प्रदेश सरकारले सूचना प्रविधिसम्बन्धी नीति तथा ऐन बनाउने र दोस्रो पञ्चवर्षीय योजनामा यसलाई समावेश गर्नेछ ।”

उपलब्ध स्रोतहरुको भरपुर उपयोगले जलविद्युत, वन, कृषि, पर्यटन उद्योग निर्माण गराउन सकिए मात्र कर्णालीलाई अशिक्षा, बेरोजगार, अभाव र गरिबमुक्त प्रदेश बनाउन सकिने उनको भनाई थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया