कर्णालीमा आपराधिक घटनामा वृद्धि: पाँच वर्षमा २ सय ७५ जनाको हत्या

सुर्खेत । गत माघ २ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीमा आफ्नै बाबुले छोराको बन्चरो प्रहार गरी हत्या गरे । बाबु ४५ वर्षीय नयाँराम बुढाले १८ वर्षीय छोरा भरत बुढाको हत्या गरे । घटना शङ्कास्पद देखिएकाले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्यसहितको अनुसन्धान टोली उक्त स्थानमा खटिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ पनि घटनास्थलमा पुगेका थिए भने कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा बुवाले भरतको हत्या गरेको खुल्यो । छोराको हत्या गरेर बुवा फरार भएका थिए । तर, खोजतलास गर्दै जाँदा प्रहरीले उनलाई कैलालीको टिकापुर–१ बाट पक्राउ गर्न सफल भयो ।

यो एउटा कर्तव्य ज्यानसम्बन्धी घटना कर्णाली प्रदेशको राजधानी तोकिएको सुर्खेतमा घटेको हो ।कर्णाली प्रदेशमा पाँच वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने २ सय ७५ जनाको हत्या भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५८ वटा घटना भएकोमा ६२ जनाको मृत्यु भएको हो ।

यस्तै, २०७६/०७७ मा ३१ घटना भएकोका ३६ जनाको मृत्यु, २०७७/०७८ मा ५३ घटना ५४ को मृत्यु, २०७८/०७९ मा ४४ घटनामा ४४ जनाकै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । उनकाअनुसार २०७९/०८० मा ४० घटना भएकोमा ४० जनाकै मृत्यु र २०८०/०८१ को माघ मसान्तसम्म ३९ घटना भएकोमा ३९ जनाको हत्या भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले द मालिका पोस्ट्लाइ उपलब्ध गराएको तथ्याङ्कमा कर्णालीमा पाँच वर्षमा २ सय ६१ घटना घटेको उल्लेख गरिएको छ । ती घटनामा १ सय ४६ जना पुरुष, ८० जना महिला, ३३ बालक र १६ जना बालिकाको मृत्यु भएको प्रवक्ता ओलीले बताए । तथ्याङ्क हेर्दा कर्णालीमा यस्ता घटनाहरू दिनहुँ बढ्दो क्रममा देखिन्छ । प्रवक्ता ओलीले अपराधजन्य घटनामा वृद्धि भएकाले प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको दाबी गरे ।

कति जना पक्राउ परे ?
यस्तै प्रहरीले पाँच वर्षमा उक्त घटनामा संलग्न भएका ५ सय १४ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ३ जना, २०७६/०७७ मा ८६, २०७७/०७८ मा १०१, २०७८/०७९ मा ७६, २०७९/०८० मा ८० र २०८०/०८१ को माघ मसान्तसम्म ६८ गरी कुल ५ सय १४ जना पक्राउ परेको प्रवक्ता ओलीले बताए ।

पक्राउ पर्नेमा पुरुष मात्रै नभई महिला र बालक समेत रहेको खुलेको ओलीले बताए। प्रहरीले दिएको तथ्याङ्क अनुसार ४ सय १६ पुरुष, ७५ जना महिला र २३ जना बालक पक्राउ परेका छन् ।

किन बढ्दैछन् हत्याका घटना ?
प्रहरीले दिएको जानकारी अनुसार अधिकांश घटना आर्थिक, पारिवारिक समस्या र अवैध यौन सम्बन्धका कारण हुने गरेको छ । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

डिप्रेसन र मादक पदार्थ सेवनका कारण पनि हत्याका घटना भएको देखिएको छ । समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्कालको आवेग रहेको पाइएको प्रहरीले जनाएको छ । हत्या हिंसा जस्ता जघन्य अपराधले नागरिकमा त्रास फैलिएको छ ।

शिक्षा र चेतनामा जोड दिनुपर्छ ः प्रवक्ता ओली

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ओलीले आपराधिक घटनामा कमी ल्याउने शिक्षा र चेतनाको स्तर अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । ‘हामीले अपराध र यसबाट समाजमा हुने खराब प्रवृत्ति र असरका बारे जनचेतना फैलाउन सकेमा यस्ता घटनामा कमी आउन सक्छ,’ उनले भने, ‘अझ नैतिक शिक्षा, आचरण, सकारात्मक सोच, समाजका हुने गरेका असल व्यवहार र प्रवृत्तिलाई प्रकाशमा ल्याउन सकेमा पनि यस्ता आपराधिक मनोवृत्ति र घटनामा कमी आउन सक्छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया