भूकम्प प्रभावित क्षेत्रमा प्रजनन् स्वास्थ्य शिविर

४ हजार बढीले सेवा लिए

-रिदम बाबु घर्ती

जाजरकोट । भूकम्प अति प्रभावित क्षेत्रमा प्रजनन् स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघको आयोजनामा आई.पि.पि.एफ.(स्प्रीन्ट) परियोजनाको सहयोगमा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

कार्तिक १७ गते गएको भूकम्पले अति प्रभावित पालिका भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका २९ स्थानमा प्रजनन् स्वास्थ्य शिविर र स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको संस्थाका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए ।

शिविर बाट महिला ३ हजार ८ सय ४५ र पुरुष ५ सय ८५ गरी जम्मा जम्मा ४ हजार ४ सय ३० जनाले सेवा पाएका छन् । ७० जना फरक क्षमता भएका व्यक्तिहरुले समेत सेवा लिन पाएको प्रबन्धक खनालले बताए ।

शिविरका साथै नेपाल परिवार नियोजन संघले भुकम्प प्रभावित समुदायका व्यक्ति तथा विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य सरसफाई लगायतका स्वास्थ्य सम्बन्धि ६५ वटा सचेतना मुलक कार्यक्रम गरिएको प्रबन्धक खनालले बताए । उक्त कार्यक्रम मार्फत ३५ सय जना लाभाम्वित भएका छन् ।

पाठेघरको मुखको क्यान्सर जाँच गरेका २ हजार ४ सय ३५, स्त्री रोग सम्बन्धी सेवा लिने ३ हजार ३ सय ६०, यौनजन्य संक्रमणको उपचार गराउने एक हजार ५ सय ७४, परिवार नियोजनको लामो अवधिको साधन इम्प्लान्ट ३ सय ४५ जना, आईयूसिडी ८ जना, पाठेघर खसेका महिला ५७ जना, बच्चाहरुको ४ सय २० जना, गर्भवती १ सय २२ जना, भिडिओ एक्सरे सेवा ४० जना, सुत्केरीहरुलाई मर्यादा सामग्री वितरण ५९ जनालाई सेवा प्रदान गरिएको थियो ।

विपद्को समयमा प्रजनन स्वास्थ्य सेवाको बढी आवश्यकता हुने हुदाँ शिविर कार्यक्रम आयोजना थियो । शिविरबाट लैङ्गिक हिंसा , गर्भवती महिला , सुत्केरी महिला ,किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श ,यौन रोग तथा एच. आई. भि. एडस सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा ,पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा प्रदान गरिएको प्रबन्धक खनालले बताए ।

नेपाल परिवार नियोजन संघबाट स्त्री रोग बिशेषज्ञ डा. हेमा छन्त्याल ,डा. अस्मिता पाठक, डा. अमित लाम्गादे लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए ।

कार्यक्रम सम्पन्न पश्चात नेपाल परिवार नियोजन संघले जिल्लाका विभिन्न सरोकारवाला निकायहरु सँग कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम एक समारोहका वीच सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मा, जिल्ला समन्वय अधिकारी कलम बहादुर महतारा, स्वास्थ सेवा कार्यालयका प्रमुख डा. दयाराम यादव, नेपाल परिवार नियोजन संघका डा. ओम महर्जन, मुल्यांकन तथा अनुगमन प्रबन्धक चेतराज जोशी लगायतका जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघका डाक्टर ओम महर्जनद्धारा परियोजनको उद्धेश्य अनुरुप जाजरकोट जिल्लामा भूकम्प पश्चात सञ्चालित कार्यक्रमको उद्धेश्यबारे प्रकाश पारेका थिए ।

साथै, अनुगमन तथा मुल्यांकन प्रबन्धक चेतराज जोशी बाट कार्यक्रम सेवा बारे जानकारी दिएका थिए । कार्यक्रम एकदम राम्रो र प्रभावकारी रहेको जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया