अमेरिकाद्वारा रूसविरुद्ध ५०० भन्दा बढी प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकाले रूसविरुद्ध ५०० भन्दा बढी प्रतिबन्धको घोषणा गरेको छ ।

युक्रेनमा आक्रमण र विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएपछि अमेरिकाले रूसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।

प्रतिबन्धले नाभाल्नीलाई जेल हाल्नमा संलग्न र युद्धसँग जोडिएका व्यक्तिलाई लक्षित गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए । रूसका करिब एकसय फर्म तथा व्यक्तिमाथि निर्यात प्रतिबन्धको घोषणा भएको छ ।

प्रतिबन्धले रूसको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन । प्रतिबन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अझै ठूलो मूल्य चुकाउनुपर्ने स्थिति सिर्जना गर्ने बाइडेनले भनेका छन् ।

युरोपियन युनियन (ईयू)ले पनि २०० रूसी संस्था तथा व्यक्तिमाथि प्रतिबन्धको घोषणा गरेको छ । प्रतिक्रियामा रूसको विदेश मन्त्रालयले ईयूका अधिकारी र राजनीतिज्ञलाई रूसमा प्रवेश गर्न प्रतिबन्धित सूचीमा राखेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया