सुनथराली विमानस्थल फागुन १४ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने

सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडास्थित सुनथराली विमानस्थल फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ उद्घाटन गर्ने भएका छन।

प्रधानमन्त्री प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागीमा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने भएको हो।

फागुन १४ गते कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहोराले जानकारी दिए

उनले भने, ‘यसअघि पनि पटक–पटकको सूचना भएर स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ मा पनि हुन्छ कि हुन्न भन्ने आशङ्का नागरिकले गरेका थिए। यो पटक तोकिएकै समयमा विमानस्थल उद्घाटन हुने पक्का भएको छ।’

फागुन १४ गते मंगलबार बिहान १० बजे नै उद्घाटन कार्यक्रम राखिएको प्रवत्ता बोहोराले बताए।

यस्तै, नरहरी नाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले फागुन १४ गते औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने जानकारी दिए।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख बजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया